नेपालको समय

Saturday, March 14, 2009

काठमाडौमा खसी किलोको सात सय


तराई बन्दका कारण खसी ल्याउन नसकिएको र फागुका बेला माग आकाशिएपछि सोमवार काठमाडौमा खसीको मासुको मूल्य बढेको छ।
विहानसम्म ४ सय ५० रुपैयाँ केजी रहेको मासु साँझ ५ सय रुपैया पुगेको थियो। कोटेश्वरलगायत उपत्यकाकै कतिपय स्थानमा भने ७ सय रुपैयाँ केजीमा समेत मासु किन्न उपभोक्ता बाध्य भएका थिए। मैतीदेवी बानेश्वर लगायतका क्षेत्रका मासु पसलमा उपभोक्ताको भीड थियो भने अधिकांश पसलमा दिउसै खसीको मासु सकिएको थियो।
पूर्णिमाको अघिल्लो दिन कलंकी बागबजारलगायतका जिउँदो खसीको ब्यापार हुने क्षेत्रमा माग बढेपछि खुद्रा मासुको समेत मूल्य बढेको बानेश्वरका ब्यापारी राजेन खड्कीले बताए। ´पाँच सय रुपैयाँ केजीका दरले बेच्दा पनि आज दिउसै मासु सकियो, खसी नै छैन मुल्य त बढ्ने नै भयो´ खड्कीले भने।
बर्डफ्लुको प्रवेशसँगै उपत्यकामा कुखुराको मासुको मूल्य खस्केको भएपनि विस्तारै कुखुराको मूल्य पनि बढ्न थालेको छ। खुद्रा मासुको मूल्य बढेपनि कृषकले पाउने मूल्य भने बढेको छैन्। पाँचखालबाट जिउँदो खसी लिएर राजधानी आएका भीम सापकोटाले आफुले मुल्य बढेको थाहा नै नपाएको बताए। ´हिजो अस्ती पनि जिउदो खसीको दाम २ सय ३० रुपैयाँ केजी हो आज पनि त्यही मूल्यामा बेच्ने हो´ सोमबार साँझ शान्तिनगरमा ५ खसी डोर्‍याउदै गरेको अवस्थामा भेटिएका उनले भने।

No comments: